२१ पुष,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशाला प्रदेश सरकारले बनाउने र यसका लागि डीपीआर तयार भइसकेको बताएका छन्।
जनकपुरधाममा आइतवार शुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भोलि पुस २२ गते राष्ट्रिय खेलकुद परिषद र गुठी संस्थानसँग मधेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पारित हुनेबित्तिकै मन्त्रिपरिषदबाट निर्णय गरेर फाइल काठमाडौँ पठाउने बताए।
करिब ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेश सरकारले लगानी गर्ने मुख्यमन्त्री सिंहले बताए।
प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रिपरिषबाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पारित गरेपछि भारतीय दूतावासमा गएपछाडि मात्र टेन्डर गर्न सक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेन्डर हुन नसकेको मुख्यमन्त्री सिंहले जानकारी गराए।
गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएको कारणले टिप्पणी उठाउन नसकिएको बताए।
उनले स्टेडियमका लागि अढाई अर्बदेखि ३ अर्ब रुपैयाँसम्मको टेन्डर गरिने बताए।
मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेश सरकार अगाडि बढेर जहिले पनि यहाँका युवाहरुको वृति विकासमा सँगै रहने प्रतिबद्धतासमेत जनाए।
जय ट्रॉफी समुद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडल, नेपाल क्रिकेट संघ ( क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड़कालगायत प्रतिनिधि, धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डू पाण्डेयसहित विभिन्न राजनीतिक दलका प्रतिनितिधिहरु र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।