Logo

१६ माघ,काठमाडौँ । आर्थिक क्षेत्रको परामर्शदाताको रुपमा स्थापित नेक्सजेन म्यानेजमेन्टले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा ((post loan management service) ) संचालन गर्ने भएको छ । कम्पनीको संचालक समिति अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा मंगलबार बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालको बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको समस्या डरलाग्दो रूपमा बढदै गईरहेको र कर्जा प्रवाहपछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा चाहेर नचाहेर पनि समस्यामा पर्दै गईरहेको अवस्थामा नेक्सजेनका विशेषज्ञहरूले कर्जा प्रवाह पछि न्यूनतम शुल्कमा परमर्श सेवा दिई कर्जालाई खराब हुनबाट रोक्ने प्रयास गर्नेछ । यस अन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणाली र करको व्यवस्थापन, ग्राहकसँगको सम्बन्ध तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन् ।

त्यसैगरी उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियामकीय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनाईएको कम्पनीका पबन्द सञ्चालक रमेश कुमार भट्टराईले जानकारी दिए । यो कार्यक्रममा नेक्सजेन र बैंक तथा वित्तीय संस्थाबीच सम्झौता हुने र निश्चित तोकेको रकम भन्दा बढीको कर्जा प्रवाह हुँदा बैंकले नै न्यून सेवा शुल्क तोकेर नेक्सजेन र ऋणीलाई आवद्ध गराउने र नेक्सजेनले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहि स्थलगत अवलोकन गरि आवश्यक परामर्श दिने प्रबन्ध सञ्चालक भट्टराईले बताए ।

यस्तो परामर्श सेवा ऋणी आफैले सम्झौता गरेर पनि लिन सक्ने कम्पनीले जनाएको छ । ऋणीसँग उद्योग व्यवसाय संचालनको उचित ज्ञान र अनुभव नहुँदा कर्जा प्रवाहपछि बैंक तथा वित्तीय संस्थाले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमशः खराब हुंदै गईरहेको कम्पनीको निष्कर्ष छ ।

बैंक वित्तीय संस्थाको खराब कर्जाको बर्तमान अवस्थालाई समयमै संबोधन नगर्ने हो भने देश ठूलै संकटमा पर्ने जोखिम रहेको पनि कम्पनीको भनाई छ । बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा हुंदा पनि नयां कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत देखिएको र सममै समस्या समाधानको लागि बैंक बित्तिय संस्थाले विशेषज्ञहरूको सेवा लिन आवश्यक रहेको नेक्सजेनको बुझाई छ ।

यसको लागि नेक्सजेन म्यान्जमेन्ट एण्ड इक्विटी सोलुसन्सले बैंक तथा वित्तीय संस्था र ऋणीबीचमा पुलको रूपमा काम गर्ने गरि परामर्श सेवा संचालनको घोषणा गरेको हो । बैंक तथा वित्तीय संस्थाका पूर्व कार्यकारी प्रमुखहरूको संस्था नेक्सजेन म्यानेजमेन्टले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको सेवा दिदै आईरहेको छ ।

देशमा आर्थिक संकट गहिरिंदै गएको र खराब कर्जाको बोझ बढदै गईरहेको परिप्रेक्ष्यमा नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकिय परामर्श सेवा बैंक वित्तिय संस्था र ऋणी सबैलाई उपयोगि र फलदायी हुने विश्वास लिएको छ ।


सम्बन्धित समाचार