Logo

पूर्व ज्ञानेन्द्र शाह
नागर्जुन दरवार, काठमाडौ

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते तपाईंले दिएको भिडियो शुभकामना सन्देश सुनेपछि केही विचार राख्न मन लागेर सामाजिक सञ्जालमार्फत तपाईंलाई एउटा पत्र लेख्दैछु । तपाईं पूर्व राजा भए पनि प्रजातन्त्र दिवसलाई यति धेरै महत्व दिएर शुभकामना व्यक्त गर्नु भएकोमा सर्वप्रथम हार्दिक धन्यवाद दिन चाहन्छु । तर, तपाईले “मुखमा रामराम, बगलीमा छुरा” जस्तो शुभकामना सन्देशमा प्रजातन्त्रलाई आत्मसाथ गर्नुको सट्टा प्रजातन्त्रको नाममा प्रजातन्त्र माथी नै छुरा प्रहार गर्ने अभिव्यक्ति प्रति मेरो असमति रहेको हुँदा आज म यो पत्र लेख्दैछु ।

तपाईँको सन्देशको आशय प्रस्टै बुझ्न सकिन्छ । गद्दी त्याग्नु परेको पीडा, आक्रोश र छटपटाहट तपाईँका शब्दहरूमा झल्किन्छ । जनताको निराशा र असन्तोषलाई तपाईले अवसरका रूपमा उपयोग गर्दै, गुमेको राजगद्दी कहीँ पुनः फर्काउन सकिन्छ कि भन्ने अपेक्षा सहित तपाईँले दिएको यो सन्देश केवल धमिलो पानीमा माछा मार्ने प्रयास वाहेक अरु केही होईन ।

हो, लोकतान्त्रिक सरकारले जनताको अपेक्षा र चाहना पूरा गर्न सकेका छैन तर यसको अर्थ उनीहरूले निरंकुश राजतन्त्रको पुनस्र्थापना गरेर आफू रैती बन्न चाहन्छन् भन्ने तपाईले सोच्नु भएको हो भन्ने त्यो तपाईको ठुलो भूल हो । जनताको असन्तोष राजनिति प्रणाली संग होईन, राजनिति दलको नेतृत्वसँग हो, महाराज ।

तपाईंको भाषण मात्र होइन, नेपाली जनताले २४० वर्षसम्म रैतीको जीवन बिताउँदै अशिक्षा, अभाव, चरम गरिबी र भोकमरी सहनुपरेको कटु यथार्थ इतिहासले साक्षी छ । अहिले जनताको भावना भड्काउने प्रयास स्वरूप हिन्दुत्वको नारा उठाएर राजगद्दीमा फर्किन सकिन्छ कि भन्ने झिनो आशामा गरिएको यो प्रयास सचेत नागरिकले राम्ररी बुझेका छन् ।

तपाईं साँच्चै हिन्दू राष्ट्रप्रति यति संवेदनशील हुनुहुन्थ्यो भने वि. स. २०६३ जेठ ४ गते नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा तपाईं मुलुकको राजा हुनुहुन्थ्यो । त्यसबेला तपाईंले स्पष्ट रूपमा भन्नुपथ्र्यो । “म हिन्दुत्वकै कारण राजगद्दीमा बसेको हुँ । यदि नेपाल हिन्दुराष्ट्र हुदैन भन्ने, मेरो वंशज परम्पराको आधारमा राजगद्दी त्याग्ने घोषणा गर्छु ।”

यदि तपाईंले त्यसो भन्नु भएको भए जनताले तपाईंलाई हिन्दुत्व प्रति सच्चा प्रतिबद्ध राजा ठानेर सम्भवतः नेपाली जनताले तपाई साथ दिन सक्थे । नेपालको राजनितिकले नै अर्कै मोड लिन सक्थ्थो होला । तर आफ्नै आँखै अगाडि हिन्दू राष्ट्र हट्दा सास नकाट्ने, हिन्दु राष्ट्र हटे पनि कतै लोकतान्त्रिक सरकारले राजगद्दी जोगाइदिन्छ कि भनेर “चु” नबोल्ने, अनि अहिले आएर हिन्दू राष्ट्रको नारा लगाएर चिच्याउनुको केहि अर्थ ? तपाईले राजगद्दीमा फर्किने भर्याङको रूपमा हिन्दुत्वको कार्ड प्रयोग गरेको हामीले राम्रैसँग बुझेका छौँ, महाराज !

हुन त, तपाईंले भनेजस्तै, यदि संवैधानिक राजतन्त्रको कुरा गर्नु भएको हो भने, त्यो आफैंमा कुनै खराब व्यवस्था होइन । तर नेपालमा राजा कहिल्यै पूर्ण रूपमा संवैधानिक रहन सकेनन् । बारम्बार संविधान मिचेर प्रत्यक्ष शासन गर्ने महाराज त आखिर तपाईंहरू नै हो । के तपाईंलाई लाग्छ, राजा वीरेन्द्रको हत्याकाण्डपछि तपाईंले लिएको प्रत्यक्ष शासन साँच्चै देश, जनता र प्रजातन्त्रको हितमा थियो ?

त्यसैले नेपालमा संवैधानिक राजतन्त्र अब राजाकै कारणले सम्भव छैन । “हुनु पर्छ” भनेर बलमिच्याइँ गरियो भने, राजाको जिद्दी र अहंकारले संसारमा के–के भयो, सायद तपाईंले पनि विश्वको इतिहास पढ्नु भएको होला ।

बेलायतका चाल्र्स प्रथम र फ्रान्सका लुई सोह्राले जनता र संसद सँग टकराउँदा के कस्तो परिणाम भोग्नु पर्यो सवैलाई थाहा नै भएको कुरा हो । त्यसैले, तपाईंले स्वीकारी सकेको संविधानसभाले गरेको निर्णयलाई आत्मसाथ गर्नु नै सवैभन्दा उत्तम विकल्प

आधुनिक युगमा राजा बन्ने सोच उचित होइन, महाराज । राजा त केवल जंगलमा हुन्छ, जहाँ सिंह÷बाघलाई प्रकृतिले अन्य जनावरहरूभन्दा बलियो, सक्षम र विशिष्ट बनाएको हुन्छ । त्यसैले नै उनीहरूलाई जंगलको राजा भनिन्छ । तर मानिस जन्मजात विशेष हुँदैन, किनभने प्रकृतिले सबैलाई समान रूपमा सिर्जना गरेको हुन्छ । मानिस विवेक, ज्ञान र योग्यताका आधारमा मात्र महान बन्छ । यदि तपाईंमा साँचो विवेक, दूरदृष्टि र असल नेतृत्व क्षमता छ भने, तपाईं केवल कुनै एक देशको मात्र होइन, समग्र संसारको शासक बन्न सक्नुहुन्छ, महाराज ।

शुभकामना सन्देशमा भनिएजस्तै, यदि तपाईं साँच्चै देश र जनताको हितका लागि चिन्तित हुनुहुन्छ र सत्ताप्रति महत्वाकांक्षा राख्नुहुन्छ भने, मेरो सुझाव छ—तपाई राजनीतिमा फर्किनुहोस् । तर, नारायणहिटी होइन, सिंहदरबारमा तपाईंलाई स्वागत छ ।

दरबारको राजा होइन, यदि तपाईंलाई देश परिवर्तन गर्ने जादूमय क्षमता छ जस्तो लाग्छ भने, विकास र परिवर्तनको राजा बनेर आउनुहोस् । लोकतान्त्रिक विधिको बाटो हुँदै राष्ट्रसेवा गर्ने आँट र साहस गर्नुहोस् । इतिहासले तपाईंलाई अमूल्य निधिको रूपमा लिई स्वर्णिम अक्षरले लेख्नेछ, र नेपाली जनताले तपाईंलाई युगौंयुगसम्म सम्झि रहनेछन् ।

फागुन ७ गतेको तपाईंको शुभकामना सन्देशप्रति मेरो मनभित्र उठेका असहमतिहरू लोकतान्त्रिक तरिकाले सामाजिक सञ्जालमार्फत पत्रको रूपमा तपाईं समक्ष राख्ने अवसर पाएँ । यदि तपाईं दरबारको राजा बन्ने सोच त्यागेर विकास र समृद्धिको राजा बन्ने बाटोमा हिँड्ने निर्णय गर्नुहुन्छ भने, फेरि अर्को शुभकामना सन्देश लेख्नेछु भन्दै विदा हुन्छु ।
धन्यवाद।

उही तपाईंको पूर्व रैतीका सन्तान,
हाल नेपाली नागरिक
सन्तोष श्रेष्ठ
ठोरी गापा–४ विजयबस्ती, पर्सा


सम्बन्धित समाचार