Logo

१३ चैत,काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारको जवाफ माग गर्दै विपक्षी दलले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् ।

बुधबार बसेको बैठकको शुरूमै माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले कुलमानलाई हटाइएको विषयमा सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका हुन् । उनले प्रधानमन्त्रीको जवाफ नआउदासम्म संसद् चल्न नदिने बताए ।

‘सेवा अविध सकिन लागेको समयमा सरकारले कुलमानलाई हटाउने निर्णय गरेको छ । कुलमानप्रति पूर्वाग्रही हुनुपर्ने के त्यस्तो स्थिति थियो ?’, सार्कीले भने, ‘सरकारका यस्तै हर्कतले प्रतिगामी शक्तिहरू सडकका सल्बलाएका छन् । सरकारले आफ्नो निर्णय सच्याओस् ।’

त्यसपछि विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि अध्यक्ष नारायण प्रसाद दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । त्यसअघि माओवादी लगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागगर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।

विपक्षीको विरोधका कारण अवरुद्ध भई ३० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार साढे १ बजेसम्म शुरू हुन सकेको छैन । सरकारले सोमबार कुलमानलाई विद्युत प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।


सम्बन्धित समाचार