
१४ चैत,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक २५–२५ मिटर विस्तारको विरोधमा व्यपारीहरुले बिहीबार एक घण्टा बजार बन्द गरेका छन । बिहान १० बजेदेखी ११ बजे सम्मको लागी वीरगञ्जका व्यपारीहरुले विरोध स्वरुप आज पहिलो दिन एक घण्टाको लागी बजार बन्द गरेका हुन् ।
देशकै प्रमुख व्यापारिक शहर वीरगञ्जको सडक विस्तार विरुद्ध दर्ता भएको रिट निवेदन सर्वोच्चमा १२ वर्षदेखि विचाराधीन मुद्दा गत फागुन २८ गते सर्वोच्च अदालतलका न्यायधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको थियो ।
सर्वोच्च अदालतले वीरगञ्जको मुख्य सडक २५- २५ मिटर फराकिलो बनाउने फैसला गरेपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। यसको पूर्णपाठ भने आउन बाँकी रहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज नापी कार्यालयलाई सडक सीमांकन गर्न पत्राचार गरेसँगै कार्यान्वयनको तयारी सुरु भएको हो।
यसैबीच, वीरगञ्ज महानगरपालिकाको पहलमा चैत ५ गते बसेको बैठकमा सरकारी कार्यालयहरूले आफ्ना संरचना हटाउने प्रतिबद्धता जनाएका थिए । यद्यपि, सडक विस्तारको आवश्यकता नभएको दाबी गर्दै घरधनी र व्यवसायीहरूले सरकारले उचित मुआब्जा नदिएसम्म यो प्रक्रिया मान्य नहुने बताएका छन्। वीरगन्ज बचाउ संघर्ष समितिका संयोजक जवाहर प्रसाद गुप्ताले भने, “घरबारविहिन बनाएर विकास गर्न खोज्नु सह्य छैन।” आफ्नो मागको सुनुवाइ नभएको भन्दै संघर्ष समितिले बिहीबार वीरगञ्ज बजार बन्द गरेरका छन् ।
बिहान १० बजे आदर्शनगर चोकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी घण्टाघर मा पुगी बिरोध सभा गरेको थियो । सडक डिभिजन कार्यालय मुर्दाबाद, सुकुमबासी बाउन पाईदैन, २०७२ को निर्णय लागू गर, दादागिरी चल्दैन, मनोमानी गर्न पाइदैन’ भनेर नारा समेत लगाएका थिए ।
सडक विस्तार रोक्न पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संयोजक गुप्ताले जानकारी दिए। घरधनीहरुको विरोधसँगै वीरगञ्जमा सडक विस्तारको विषय थप पेचिलो बन्ने देखिएको छ।