Logo

४ वैशाख,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लाका ११ वटा निजी अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् । बुधबार साँझ गरिएको स्वास्थ्य संस्था अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अनुमति बिना सञ्चालन भएका र आवश्यक मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले सर्लाहीको बरहथवामा रहेका सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार बन्द गरिएका अस्पतालहरूलाई कानुनबमोजिम सेवा सञ्चालनको अनुमति लिएर, नवीकरण गराएर र तोकिएको मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालन गर्न लिखित निर्देशन दिइएको छ ।

यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीकै मलंगवा, नवलपुर, लालबन्दी र हरिवन लगायतका स्थानमा रहेका स्वास्थ्य संस्थाहरूको अनुगमन गरी अनुमति नलिएका र मापदण्ड विपरीत सञ्चालन भएका अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिएका थिए ।


सम्बन्धित समाचार