
६ वैशाख, वीरगञ्ज । नेपाली स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यूएईका शीर्ष स्वास्थ्य अधिकारीसँगको भेटमा नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आपसी सहकार्यका लागि आग्रह गरेका छन् ।
अबुधाबीस्थित स्वास्थ्य विभागका अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटमा मन्त्री पौडेलले यूएईमा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाका लागि यूएई सरकारको सक्रिय सहयोगको अपेक्षा व्यक्त गरे ।
उनले नेपालमा सर्वव्यापी स्वास्थ्य पहुँच विस्तारका लागि बीमा प्रणाली, डिजिटल प्रविधिको प्रयोग, मिर्गौला डायलासिस केन्द्रहरूको स्तरोन्नति तथा अङ्ग प्रत्यारोपण जस्ता क्षेत्रमा सहयोग आवश्यक रहेको धारणा राखे ।
यूएई स्वास्थ्य विभाग अध्यक्ष मन्सुरीले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी र सहयोग गर्न यूएई तयार रहेको जनाउँदै, दुई देशबीच औपचारिक सम्झौता मार्फत दीर्घकालीन सहकार्य आवश्यक रहेको बताए। साथै, उनले यूएईमा कार्यरत नेपाली श्रमिकको लगनशीलता र अनुशासनको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ र मैत्रीपूर्ण बनाउने प्रतिबद्धता जनाए ।
भेटमा अबुधाबीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। मन्त्री पौडेल नेपाली समुदायद्वारा आइतवार आयोजना हुने “नेपाल फेस्टिभल” कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी हुने नेपाली दूतावासले जानकारी दिएको छ ।
यो भेटले नेपाल–यूएई सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।