
८ बैशाख, वीरगञ्ज । देशभर गर्मी तीव्र रुपमा बढ्न थालेको छ। पछिल्ला केही दिन बदली र वर्षापछि मौसम खुल्न थालेसँगै विशेष गरी तराई-मधेश क्षेत्रमा उच्च तापक्रम मापन भएको छ । काठमाडाैं उपत्यकासहित मध्य पहाडी क्षेत्रहरूमा समेत गर्मीको प्रभाव बढ्न थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आईतबार डोटीको दिपायलमा अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस नाघेको छ भने तराई-मधेशका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री आसपास पुगेको छ । राजधानी काठमाडौंमा पनि तापक्रम २८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ ।
जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार, आज सोमबार देखि अझै बढी घाम लाग्ने र तापक्रम थप बढ्ने सम्भावना रहेको छ । “तराई मधेशका केही जिल्लाहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ,” उनले भने, “यसको असरस्वरूप तातो हावा (लू) बहन पनि सुरु हुन सक्छ ।”
गर्मीको यो अवस्था दीर्घकालीन हुन सक्ने भएकाले स्वास्थ्य विशेषज्ञहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । बढी घाम लाग्ने समयमा बाहिर जान नहुने, प्रशस्त पानी पिउने, हल्का कपडा लगाउने, र बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने सुझाव दिइएको छ ।