Logo

१३ असार,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–३, रामनगरमा शनिबार वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ। रामनगरस्थित सिंगल ट्री रिसोर्टमा आयोजित कार्यक्रममा सहभागीहरूलाई वन, वातावरण र संरक्षणसम्बन्धी विविध विषयमा अभिमुखीकरण गरिएको थियो।

निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति, ठोरी–२ को आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, कसराको सहयोगमा आयोजित कार्यक्रममा वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।

कार्यक्रम निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवन खड्काको सभापतित्व तथा ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा संरक्षणमा सक्रिय स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष रेग्मीले ठोरी क्षेत्र वन र वन्यजन्तुबाट सधैं प्रभावित हुँदै आएको उल्लेख गर्दै संरक्षणको प्रतिफल स्थानीय समुदायले पनि पाउनुपर्ने बताइन्। उनले जनतामैत्री वन ऐन र कानुनको अभावका कारण स्थानीयमा संरक्षणप्रतिको चासो घट्दै गएको धारणा राखिन्।

त्यसैगरी आयोजक समिति अध्यक्ष जीवन खड्काले स्थानीय समुदायको सक्रिय सहभागितामार्फत वन्यजन्तु तथा पर्यावरण संरक्षणलाई थप प्रभावकारी बनाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।


सम्बन्धित समाचार