Logo

१३ असार,काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा बर्डफ्लु (एच५एन१) सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ।

विसं २०८२ चैत ४ गते मोरङमा पहिलो पटक बर्डफ्लु पुष्टि भएपछि संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार नियन्त्रण अभियानका क्रममा हालसम्म पाँच लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट गरिएको छ। साथै करिब ९ लाख ८९ हजार अण्डा र एक हजार ९५४ क्विन्टलभन्दा बढी दाना पनि नष्ट गरिएको छ।

विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको जनाएको छ।

हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीका केही क्षेत्रमा संक्रमण नियन्त्रणमा आएको भए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका केही स्थानमा संक्रमण अझै देखिइरहेको विभागले जनाएको छ।

सङ्क्रमित भाइरसमा आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जिन अनुक्रमण प्रक्रिया समेत सुरु गरिएको छ।

विभागले पन्छीपालक किसानलाई कडा जैविक सुरक्षा (बायोसेक्युरिटी) मापदण्ड अपनाउन, ढुवानी साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्ममा प्रवेश गराउन तथा जङ्गली पन्छीसँग सम्पर्क रोक्न आग्रह गरेको छ।

यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन र कुनै फार्ममा अस्वाभाविक रूपमा पन्छी बिरामी वा मरेको देखिए तत्काल सम्बन्धित कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।


सम्बन्धित समाचार
भर्खरै