Logo

१३ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले उमेरलाई मात्र आधार बनाएर नेतृत्वको मूल्यांकन गर्न नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले अनुभव र उमेर दुवैको सन्तुलन आवश्यक हुने तर्क गरे। “उमेर मात्रै सबै कुरा होइन रहेछ, युवामात्रै पनि सबै कुरा होइन रहेछ,” उनले भने।

लिङ्देनले ३५–३६ वर्ष उमेर भएकै आधारमा सबैलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तै ठान्न नहुने टिप्पणी गरे। साथै, उनले उमेरका आधारमा नेतृत्व क्षमता नतोक्नुपर्ने जोड दिए।

उनले विश्व नेतृत्वको उदाहरण दिँदै ८० वर्षका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई महाशक्ति राष्ट्रको नेतृत्वमा रहेको प्रसंग उल्लेख गरे। त्यस्तै, ९० वर्ष नाघेका व्यक्तिहरू पनि राष्ट्रप्रमुख रहेको भन्दै उमेर मात्र निर्णायक नहुने बताए।

लिङ्देनले राप्रपामा २५ देखि ८५ वर्ष उमेर समूहसम्मका नेताहरू सक्रिय रहेको उल्लेख गर्दै पार्टीमा युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन रहेको दाबी गरे।

“सबैलाई मिलाएर लैजाने जिम्मेवारी नेतृत्वको हो,” उनले भने, “हामीले कुनै पनि प्रकारको कमी हुन दिँदैनौं।”

उनले हल्ला र अपुष्ट कुराका आधारमा निर्णय नगर्न पनि आग्रह गर्दै त्यसले व्यक्ति र पार्टी दुवैलाई हानि पुर्‍याउने टिप्पणी गरे।


सम्बन्धित समाचार
भर्खरै