१३ असार,काठमाडौं । नेपाल सरकारले साउदी अरबले लागू गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. म्निखरसँग भएको शिष्टाचार भेटका क्रममा उक्त प्रक्रिया रोक्न विशेष अनुरोध गरेका हुन्। सरकारले यो प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा अवरोध नआओस् भन्ने उद्देश्य राखेको जनाएको छ।
भेटमा मन्त्री यादवले हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारी सुरक्षित हुने वातावरण सुनिश्चित गर्न आग्रह गरे।
उनले सीप प्रमाणीकरणसँग सम्बन्धित विषयहरू द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।
जवाफमा साउदी राजदूत फहद मोहम्मद ए. म्निखरले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराइने बताएका छन्।