Logo

१३ असार,काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारका नीतिहरू जनविरोधी र उल्टो दिशामा रहेको आरोप लगाएका छन्।

मन्थलीमा पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउनुपर्ने सट्टा विद्युतीय गाडी (EV) मा कर लगाएर गलत नीति अपनाएको टिप्पणी गरे। उनका अनुसार सरकारले वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो बाटो समातेको छ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्याट लगाउने विषयलाई पनि जनविरोधी कदम भएको बताउँदै यो नीति रास्वपाको घोषणापत्र विपरीत रहेको दाबी गरे। “एक प्रतिशत नै किन नहोस्, यो नीतिगत कुरा हो,” उनले भने।

घिसिङले हालको सरकार श्रमिकविरोधी रहेको आरोप लगाउँदै श्रमिकहरूको न्यूनतम ज्याला नबढाइनु सरकारको कमजोरी भएको टिप्पणी गरे।

उनले पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट हेरफेरका कारण राजीनामा दिनुपरेको स्मरण गर्दै हालका अर्थमन्त्रीले पनि बजेटको दर हेरफेर गरेको चर्चा बाहिर आएको दाबी गरे।

सरकारले नागरिकको आत्मविश्वास बढाउन नसकेको उनको निष्कर्ष थियो। “विश्वास नजगाएसम्म देशमै बसेर काम गर्ने वातावरण बन्दैन,” घिसिङले बताए।


सम्बन्धित समाचार