Logo

१३ असार,काठमाडौं । राजधानीको माइतीघर मण्डलामा दृष्टिविहीनहरूले जारी राखेको आन्दोलन आज छैटौँ दिनमा पनि निरन्तर रहेको छ। आफ्ना विभिन्न मागहरूप्रति सरकारले ध्यान नदिएको भन्दै प्रदर्शनकारीहरूले राज्यको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आन्दोलनमा सहभागी सूर्य लिम्बूले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण सरकारले आफ्नो आवाज नसुनेको हुनसक्ने आशंका व्यक्त गर्दै आगामी दिनमा माग सम्बोधन हुने अपेक्षा रहेको बताए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दृष्टिविहीन सांसद रमेश प्रसाईंले राजधानीमै भइरहेको आन्दोलनलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले साना घटनामा समेत चासो देखाउनेहरू राजधानीको मुटुमा भएको न्यायोचित आन्दोलनप्रति मौन रहेको टिप्पणी गरे।

प्रदर्शनकारीहरूले सरकारसँग रोजगारीको व्यवस्था, अपांगता भएका व्यक्तिहरूका लागि उचित पुनःस्थापनासहित मन्दिर तथा सडकमा सांगीतिक प्रस्तुति गर्न पाउने अधिकारलगायत माग अघि सारेका छन्।

सरकारसँग तत्काल वार्ताको वातावरण बनाउन माग गर्दै आन्दोलनकारीहरूले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै