१३ असार,विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा कारागारभित्र प्रदर्शन भएको छ।
प्रहरीले गिरीलाई शनिबार बिहान विराटनगर–८ मधुमारास्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि शनिबार दिउँसो कारागारभित्र रहेका कैदीबन्दीले प्रदर्शन गरेका हुन्।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार बी ब्लकका कैदीबन्दीले गिरीको समर्थनमा प्रदर्शन गरेका छन् भने ए ब्लकका कैदीबन्दीले उनको विरोधमा नाराबाजी गरेका छन्।
मोरङ कारागारमा तीन वटा ब्लकमा गरी एक हजार १८५ कैदीबन्दी छन्। तीमध्ये ए ब्लकमा ५३९, बी ब्लकमा ५३६ र महिला ब्लकमा ११० जना रहेका छन्। सरकारले गर्मी भत्ताबापत प्रत्येक कैदीबन्दीलाई दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको थियो।
बी ब्लकका ५३६ कैदीबन्दीका लागि वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ वितरणको केही समयपछि हराएको भन्दै गिरीमाथि दुरुपयोगको आरोप लागेको छ। सोही घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउपछि गिरीले छाती दुखेको गुनासो गरेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरेको छ।
अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा नौ वर्ष कैद सजाय भुक्तान गरी दुई वर्षअघि कारागारबाट रिहा भएका गिरीमाथि रिहाइपछि पनि कारागारको आन्तरिक व्यवस्थापनमा प्रभाव कायम राखेको आरोप लाग्दै आएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

















