१४ असार, काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनका कारण लगातार तीन पटकसम्म सूचना टाँसेर स्थगित भएको सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार २८ औँ बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो ।
रास्वपाका मन्त्री तथा सांसदहरू पार्टी महाधिवेशनमा व्यस्त भएपछि संसद्का महत्त्वपूर्ण कार्यसूचीहरू प्रभावित बन्दै आएका थिए । सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले तेस्रो पटक सूचना जारी गर्दै बैठक आजका लागि तय गरेका हुन् । यसअघि गत असार ५ गते प्रतिनिधिसभाको बैठक बसेको थियो ।
लामो समयको अन्तरालपछि बस्न लागेको आजको बैठकका लागि संसद् सचिवालयले सम्भावित १२ वटा कार्यसूची तय गरेको छ । जसमा आर्थिक वर्षको बजेटसँग जोडिएका महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने मुख्य योजना छ ।
बैठकको प्रारम्भमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसलगत्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले “महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३” सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा “आर्थिक विधेयक, २०८३” माथि प्राप्त संशोधनहरूसहित छलफल गरिनेछ । सो छलफल र संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” माथिको दफावार छलफल सदनमा चलाएर आजै पारित गर्ने सचिवालयको तयारी छ ।
आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण ऐनका संशोधन विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको तर्फबाट मन्त्री महावीर पुनले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३” सदनमा टेबुल गर्नेछन्।
बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्व सदस्य राजेन्द्र खरेलको असामयिक निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरी बैठक समापन गरिने संसद् सचिवालयले जनाएको छ ।

















