
८ वैशाख, काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए ।
एसएसपी दाहालका अनुसार ललितपुर महानगरपालिका(१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका १० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
पोलबाट लत्रिएको बिजुलीको तारलाई बोलेरोले छुँदा यात्रुमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। स्थानीय सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तार बोलोरमो प्रवाह हुँदा आगो लागेको स्थानीयले बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।