
१२ वैशाख,वीरगञ्ज । वीरगञ्जमा आज अस्पताल र क्लिनिकहरु बन्द हुँदा बिरामीहरुले सास्ती खेप्नुपरेको छ। नेपाल चिकित्सक संघको आह्वानमा आवासीय चिकित्सकहरुले निर्वाह भत्ता नपाएको र धम्की आएको विरोधमा यहाँका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको हो।
नारायणी अस्पताल जस्तो ठूलो अस्पतालका साथै निजी अस्पताल र मेडिकल कलेजहरुमा समेत सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामीहरु निराश भएर फर्कन बाध्य भएका छन्। डाक्टरहरुका निजी क्लिनिकहरु पनि आज खुलेका छैनन्।
नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर निरज सिंहका अनुसार आन्दोलनरत चिकित्सकहरुले आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम समेत राखेका थिए्। चिकित्सकहरुको यो आन्दोलनले बिरामीहरुलाई समस्या परेको छ भने कहिलेसम्म यो अवस्था रहने हो भन्ने अन्योलता छाएको छ।