Logo

 १३ वैशाख ,काठमाडौं ।  हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा र कोशी प्रदेशको हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

विभागले मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना औंल्याएको छ। यसैगरी, लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो लहरको समेत सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गर्न र सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।


सम्बन्धित समाचार