
१३ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बारा जिल्लाको कलैयामा रहेका निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका छन्। शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैँ निजी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको निरीक्षणमा जुटेका हुन्।
मुख्यमन्त्री सचिवालयका अनुसार, हालसम्म मुख्यमन्त्री सिंहले कलैयास्थित योगशिला अस्पताल प्रालिको सेवाबारे जाँच गरेका छन्। अनुगमनका क्रममा योगशिला अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। १५ शय्याको अस्पतालमा अप्रेसन गर्न नमिल्ने मापदण्डविपरीत कार्य गरिरहेको भन्दै मुख्यमन्त्रीले अस्पताल बन्द गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री सतिस सिंहले गत २५ माघदेखि प्रदेशभरिका निजी अस्पतालहरूको अवस्था बुझ्ने अभियान थालेका थिए। जनकपुरबाट सुरु भएको यो अभियान अन्तर्गत उनले हाल प्रदेशका विभिन्न जिल्लामा निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका हुन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार, यो अढाइ महिनाको अवधिमा मुख्यमन्त्री सिंहले १८० वटा निजी अस्पतालको अनुगमन गरिसकेका छन्। जसमध्ये १३३ वटा निजी अस्पताल मापदण्डविपरीत सञ्चालित रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।