Logo

१४ बैशाख, सेढवा (पर्सा) । पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित प्रसिद्ध दुधेश्वर महादेव मन्दिरमा शनिबार  वैशाख कृष्णपक्ष त्रयोदशीका दिन भव्य मेला सम्पन्न भएको छ ।  पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन जिल्लाका साथै भारतको बिहार र उत्तर प्रदेशबाट हजारौं श्रद्धालु भगवान शिवको दर्शन गर्न मन्दिरमा पुगेका थिए ।

भाथाको पहाडमा अवस्थित दुधेश्वर महादेवलाई जल, फूल, बेलपत्र, प्रसाद लगायत पूजाका सामग्री चढाउँदै भक्तजनहरूले पूजाअर्चना गरेका थिए। मनोकामना पूरा भएपछि अष्टजाम आयोजना गर्ने तथा विशेष पूजाअर्चना गर्ने परम्परा यहाँ छ। साथै, चर्मरोग निको हुने विश्वासका साथ “सावा भार भन्टा” चढाउने प्रचलन पनि निरन्तर जारी छ ।

मानव बस्तीभन्दा करिब १७ किलोमिटर भित्र जंगलबीच रहेको मन्दिरसम्म जान विगतमा यात्रीहरूलाई लामो जाम र अप्ठ्यारो यात्रा भोग्नुपर्थ्यो । तर, यसपालि पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले चारभैया नाकासहित थप दुई नाका खुला गरेपछि यात्रुहरू सहज रूपमा मन्दिरसम्म पुग्न सफल भएका छन् । धोबिनी गाउँपालिकाका भिखमपुर निवासी महेश प्रसाद कुर्मीले यात्रा सहज र व्यवस्थित भएको प्रतिक्रिया दिए ।

निकुञ्ज प्रशासनले पानीटंकी हुँदै शिकारीबास फायर लाइन र गडुवा लाइन हुँदै रामभौरीतर्फका नाका खुला गरेपछि यातायातमा ठूलो सहजता आएको हो । यी नाकाहरू ठोरी गाउँपालिकाको सहयोगमा एक्साभेटर प्रयोग गरी सम्याउने तथा सफाइ गरी सञ्चालनमा ल्याइएको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए ।

यसपालिको व्यवस्थापन र भक्तजनको भीडले दुधेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व थप उजागर गरेको छ ।


सम्बन्धित समाचार