
१५ बैशाख, काठमाडौँ । अमेरिकाले गैरकानुनी रूपमा बस्दै आएका थप चार जना नेपालीलाई निष्कासन गरेको छ। अमेरिकी अध्यागमन विभागले उनीहरूलाई एयर इन्डियाको विमानमार्फत नेपाल फर्काएको हो ।
निष्कासनमा पर्ने नेपालीहरू बुढा मगर, बोहोरा, बुढा पुन र वली थर भएका छन्। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि गैरकानुनी रूपमा बसिरहेका नेपालीहरूलाई लगातार निष्कासन प्रक्रिया अगाडि बढाएको हो।
यसअघि पनि अमेरिकी अध्यागमनले दुई पटक चार्टर्ड विमानमार्फत नेपालीहरूलाई फिर्ता पठाएको थियो । पहिलो पटक ११ जना र दोस्रो पटक ३ जना नेपाली चार्टर्ड विमानबाट नेपाल फर्काइएका थिए । त्यसबाहेक विभिन्न एयरलाइन्समार्फत पनि नेपालीहरूको निष्कासन भइरहेकाे छ ।