Logo

१४ असार काठमाडौँ ।वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन गरिरहेको छ ।

तालिम नलिइ प्रमाणपत्र बनाउने तथा पैसा लिएर नक्कली प्रमाणपत्र बिक्री गर्ने गरिएको गुनासो आएपछि विभागले प्रमाणपत्रको सत्यता परीक्षण थालेको हो ।इजरायलले २ हजार २ सय नेपाली केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । आवेदन प्रक्रियामा सहभागी हुन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी–वान’ तह उत्तीर्ण अनिवार्य गरिएको थियो । उक्त परीक्षामा १५ हजार ६ सय २६ जनाले सहभागिता जनाए पनि १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका छन् ।

अंग्रेजी भाषा परीक्षा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत सञ्चालन गरिएको थियो । परीक्षामा सहभागीमध्ये करिब ७.८ प्रतिशत मात्रै उत्तीर्ण भएपछि अब विभागले उनीहरूले पेस गरेका केयरगिभर तालिम प्रमाणपत्रको समेत विस्तृत परीक्षण सुरु गरेको हो ।

यसका लागि विभागले जेठ २० गते सूचना जारी गर्दै सीटीईभीटी, एनएभीटी तथा विभागमा दर्ता भएका सबै तालिम प्रदायक संस्थाबाट प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण मागेको थियो । संस्थाहरूले नाम, ठेगाना, तालिम अवधि, प्रमाणपत्र जारी मिति लगायतका विवरण बुझाइसकेका छन् । विभागले अहिले ती विवरण अध्ययन तथा प्रमाणीकरण गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार