
१७ वैशाख, काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण विद्यार्थीहरूको शिक्षा पाउने अधिकारमा गम्भीर असर परेको भन्दै अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज यस मुद्दाको सुनुवाइ सम्पन्न भएको हो।
यसअघि, वैशाख ११ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले शिक्षकहरूका जायज मागहरू तीन दिनभित्र पूरा गरी विद्यालयमा पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई आदेश दिएको थियो। अदालतले उक्त आदेश कार्यान्वयनको प्रगति विवरण पेश गर्न शिक्षा मन्त्रालयलाई निर्देशनात्मक आदेश जारी गरेको थियो।
आज सर्वोच्च अदालतको मुद्दा महाशाखा प्रमुखले आदेश कार्यान्वयनको हालसम्मको प्रगति प्रतिवेदन इजलासमा पेश गरेका छन्। अधिवक्ता चौधरीले दायर गरेको रिट र मुद्दा महाशाखा प्रमुखले पेश गरेको प्रतिवेदनमाथि न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा विस्तृत सुनुवाइ भएको हो।
उल्लेखनीय छ, विभिन्न माग राखी गत चैत्र २० गतेदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। सरकारसँग वार्ता पनि जारी रहे पनि शिक्षकहरूका मागहरू पूरा गर्ने विषयमा सहमति जुट्न सकेको छैन। यसले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर अवरोध सिर्जना गरेको छ। अब अदालतको निर्णयले विद्यार्थीहरूको भविष्य र शिक्षकहरूको आन्दोलनको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।