
२८ बैशाख, बिरगंज । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २६४९ औं जन्मदिवस, २६१४ औं बुद्धत्व प्राप्ति दिवस र २५६९ औं महापरिनिर्वाण दिवसको अवसर पारेर एलाइड युथ सोसाइटी, बिरगंज पर्साले आइतबार एक विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।
एलाइड युथ सोसाइटीका सचिव सन्नी श्रीवास्तवको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली सेनाका श्रीकृष्ण थापा लगायत विभिन्न सुरक्षा निकाय र शैक्षिक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।
सरसफाई अभियानमा श्री श्री जंग गण पर्सा, सशस्त्र प्रहरी बल न. म. १३ गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र बिरगंज महानगरपालिकाले सहकार्य गरेका थिए। गौतम विद्यालय र नेशनल इन्फोटेक विद्यालयले कार्यक्रमलाई सहयोग गरेका थिए ।
कार्यक्रममा एलाइड युथ सोसाइटी बिरगंज पर्साका अध्यक्ष ओम झा, मधेश विश्व विद्यालयका उपकुलपति डा. दीपक शाक्य, सुरक्षा निकायका उच्च अधिकारीहरू, विद्यार्थी, शिक्षक र स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।
गौतम विद्यालयका सञ्चालक सोनम लामाले कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी भई भगवान बुद्धको जीवन दर्शन, अहिंसा र विश्वशान्तिको सन्देशबारे आफ्नो विचार व्यक्त गरे। उनले शिक्षाको माध्यमबाट बुद्धका विचारहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने बताए ।
आयोजक संस्थाका अनुसार यो सरसफाई अभियानले धार्मिक चेतना बढाउनुका साथै स्वच्छ समाज निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको छ ।