Logo

१४ जेठ, काठमाडौँ । शहीद पत्रकार *कृष्ण सेन ‘इच्छुक’*को स्मृतिमा स्थापना गरिएको ‘सेन स्मृति पत्रकारिता पुरस्कार २०८२’ यस वर्ष पत्रकार, लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटरलाई प्रदान गरिने भएको छ।

प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको हो। पिटर वामपन्थी पत्रकारका रूपमा चिनिन्छन्, साथै उनी लेखक र राजनीतिक विश्लेषक पनि हुन्। १० वर्षे जनयुद्धको समयमा उनले विकट तथा दुर्गम क्षेत्रमा पुगेर माओवादी विचार र आन्दोलनलाई विचारमूलक लेखमार्फत जनस्तरसम्म पुर्‍याएको योगदानका आधारमा यो सम्मान प्रदान गरिने जनाइएको छ। पुरस्कार राशी ३० हजार रुपैयाँ रहेको छ।

अन्य पुरस्कार घोषणा

त्यसैगरी, ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२’ पत्रकार रुबी श्रेष्ठलाई प्रदान गरिने भएको छ। श्रेष्ठ प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा रेडियो नेपालमा लामो समयदेखि कार्यरत पत्रकार हुन्। जनयुद्धका दिनमा युद्ध रेडियो पत्रकारको रूपमा उनले काम गरेका थिए। यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, दिवंगत पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार २०८२’ सिराहाका पत्रकार मणि विश्वकर्मालाई प्रदान गरिने छ। नयाँ पत्रिकाका संवाददाताका रूपमा सक्रिय विश्वकर्मा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत हुन्। उक्त पुरस्कारको राशी पनि २५ हजार रुपैयाँ रहेको छ।

माघ १५ मा पुरस्कार वितरण

प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीका अनुसार, यी सबै पुरस्कारहरू आगामी माघ १५ गते स्थापना दिवसको अवसरमा प्रदान गरिने छन्। सेन्टरले हरेक वर्ष कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसमा पुरस्कार घोषणा गर्दै स्थापना दिवसमा वितरण गर्दै आएको परम्परा रहेको छ।


सम्बन्धित समाचार