
१४ जेठ, वीरगञ्ज । जनपक्षीय पत्रकार तथा लेखक कृष्ण सेन ‘इच्छुक’ को २३ औं स्मृति दिवस देशभरी मनाईएको छ । पर्सामा पनि मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल पर्सा र मधेस प्रदेश समितिको संयुक्त आयोजनामा वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन गरिएको हो ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगर, केन्द्रीय सदस्य संतोष पौडेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायत प्रेस सेन्टरका जिल्ला र प्रदेशका पदाधिकारी तथा सदस्यहरु र अन्य सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा शहिद कृष्ण सेन ‘इच्छुक’ लाई स्मरण गर्दै उनको सम्मानमा एक मिनेट मौन धारण गरी दीप प्रज्वलन गरिएको प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवले जानकारी दिए ।
सेन्टर पर्साले जेठ १५ गते गणतन्त्र दिवसको दिन ‘इच्छुक’ को सम्झनामा स्थापना गरिएको कृष्ण सेन ‘इच्छुक’ स्मृति सम्मान पुरस्कार र प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कार पनि वितरण गरिने बताए ।
यस्तै बारामा पनि कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेको छ । बाराको कलैया स्थित भरत चोकमा प्रेस सेन्टर नेपाल बाराले दीप प्रज्वलन गरेको थियो ।
सेन्टरका जिल्ला अध्यक्ष रञ्जन यादवको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य रामबाबु मेहेता, प्रदेश सचिव रेमश साह, पत्रकार महासंघ बाराका सदस्य शर्मालाल बैठा लगायत सेन्टरका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेस प्रसाद यादवले गरेका थिए ।
मधेसका जिल्लाहरुमा कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा सप्तरी, सिराहामा पनि दीप प्रज्वलन गर्नुका साथै महोत्तरीमा सेन्टर र प्रगतिशील लेखक संघको संयुक्त आयोजनामा विचार गोष्ठिको समेत आयोजना गरिएको प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले जानकारी दिए ।