Logo

फाईल फोटो

१४ जेठ,वीरगञ्ज । इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा उच्च अदालत वीरगञ्जमा सुनुवाइ सकिएको छ। जिल्ला अदालतको फैसलाविरुद्ध उनले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ सकिएकाले आजै (जेठ १५ गते) फैसला आउने सम्भावना रहेको छ।

यो मुद्दामा जिल्ला अदालत रौतहटले करिब एक वर्षअघि (२०८१ वैशाख १३) आलमसहित चार जना — महताब आलम (आफताबका सहोदर भाइ), शेष सेराज र बद्री सहनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो। उनीहरू सबैको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको हो।

स्मरण रहोस्, २०६४ चैत २७ गते चुनावको पूर्वसन्ध्यामा आलमको रौतहटस्थित घरमा बम विस्फोट भएको थियो। प्रहरी अनुसन्धानका क्रममा चुनावमा अरूलाई तर्साउन बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिहरूलाई उनले घटना लुकाउनका लागि इँटाभट्टामा जिउँदै जलाएर मारेको खुलेको थियो। यो घटनालाई बीभत्स अपराधको रूपमा हेरिएको छ।


सम्बन्धित समाचार