
१५ जेठ,वीरगञ्ज । डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटलको संयुक्त आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर आज वीरगञ्ज कारागार कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कारागार कार्यालय वीरगञ्जको सहकार्यमा आयोजित यस कार्यक्रममा कारागारमा रहेका थुनुवा, कैदीबन्दी, तीन महिला र सशस्त्र प्रहरीसहित कुल १४० जनाले रक्तदान गरेका छन्।
वीरगञ्जमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी रक्तदाताहरुले रगतको आवश्यकता परेकाहरुलाई जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न मुद्दामा कैदजीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर उदाहरणीय कार्य गर्नुभएको छ। यसले रगतको अभाव भोगिरहेकाहरुलाई ठूलो अर्थ राख्ने गर्छ।“
कार्यक्रम संयोजक दिलीपराज कार्कीले वीरगञ्जमा रगतको चर्को अभाव महसुस गरी रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कुनै विषम परिस्थितिमा कसूर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गर्नुभएको छ। रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ।“
रक्तदान कार्यक्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी देवेन्द्रबहादुर सिंह, कारागारको सुरक्षा व्यवस्थापन हेर्दै आइरहेको सशस्त्र प्रहरीका नायब उपरीक्षक सुवर्ण पोखरेल, कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रूपक मण्डल र अन्य सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।