
१५ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले इँटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशहरूको कडा शब्दमा आलोचना गरेका छन्। श्रेष्ठले उक्त निर्णयलाई ’नेपालको न्यायालयको इतिहासमा कलंक’ को संज्ञा दिँदै सम्बन्धित न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने टिप्पणी गरेका छन्।
बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो। यस निर्णयपश्चात् आलम नख्खु कारागारबाट रिहा भइसकेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताब आलम लगायतका व्यक्तिहरूलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रूपमा दर्ज भएको छ।“
उनले आलमलाई सफाइ दिएर न्यायाधीशहरूले ’कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत’ गरेको आरोप लगाउँदै ती न्यायाधीशहरूलाई ’बहादुर’ को संज्ञा दिएका छन्। श्रेष्ठले यस्ता ’बहादुर’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन्।
अपराधमा संलग्न व्यक्तिहरू समाजमा ’निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाज र आम नागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न हुनेछ भन्दै श्रेष्ठले प्रश्न गरेका छन्। उनले यसको जिम्मेवारी कसले लिने भन्दै न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन्।
अन्तमा श्रेष्ठले सबै क्षेत्रमा व्यापक कारबाही, रूपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी रहेकोमा जोड दिएका छन्।