
१६ जेठ, काठमाडौं । सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गर्नुभएको हो । चालु आर्थिक वर्ष २०८१÷८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले खाने खानामा १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको घरपालुवा जनावर कुकुर र बिरालोको लागि खाना आयात हुने गरेको छ । यस्तै, सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर अब ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । पोर्टल्याण्ड सिमेन्ट, आलुमिनस सिमेन्ट, स्लयाग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट सबैमा ५ प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरेको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ प्रति मेट्रिक टन अन्तःशुल्क हुँदा प्रतिबोरा ११ रुपैयाँ रहेकोमा अब बढाएर ५ प्रतिशत अन्तःशुल्क लगाउने भएका हुन् ।
चिनीको भन्सार भने सरकारले १५ प्रतिशत बिन्दुले घटाएको छ । ३० प्रतिशत रहेको भन्सार शुल्कलाई घटाएर १५ प्रतिशत सार्क मुलुक र तेस्रो मुलुकबाट आयात हुने चिनीको भन्सार ३० प्रतिशत रहेकोमा अब १५ प्रतिशत मात्रै बनाएको हो । चिनीसँगै सखर र मिस्रीको भन्सार पनि घटाएको छ । सखर र मिस्रीको भन्सार पनि ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत नै बनाईएको छ ।
सरकारले छ्याङ आयात गर्दा लाग्ने भन्सार शुल्क ४० प्रतिशत वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा छ्याङ आयात गर्दा ४० प्रतिशत भन्सार शुल्कलाई सरकारले वृद्धि गरी ८० प्रतिशत पु¥याएको छ ।