Logo

१७ जेठ, वीरगञ्ज । नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) र कार्डियाक केयर युनिट (सीसीयू) मा गएराति करिब १० बजे अचानक सर्ट सर्किटका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको छ । अक्सिजन र जीवनरक्षक उपकरणमा निर्भर १७ जना बिरामीको ज्यान जोखिममा परेको यो घटनाले अस्पताल प्रशासनको संवेदनशीलता र तयारीप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

विद्युत् आपूर्ति तीन घण्टासम्म बन्द रहँदा आईसीयू र सीसीयूमा रहेका बिरामी र तिनका परिवार सदस्यहरू अत्यन्त तनावमा परेका थिए । गर्मी र उपकरण नचल्दा बिरामीहरूको अवस्था झन् नाजुक बनेको थियो । अस्पताल प्रशासन सम्पर्कविहीन रहेको भन्दै चिकित्सक र कुरुवाहरूले तीव्र आलोचना गरेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दास निद्रामै रहेको आरोप लागेपछि अस्पताल प्रशासनको जिम्मेवारीप्रति शङ्का बढेको छ । अस्पतालका निमित्त मेसु डा. चितरन्जन साह पनि विद्युत् अवरोधका विषयमा अनभिज्ञ रहेको बताइएको छ ।

बिरामीका परिवारले अस्पताल प्रशासनमाथि ज्यानसँग खेलवाड गरेको कडा आरोप लगाएका छन् । उनीहरूले बिरामीलाई अन्य अस्पतालमा लैजान दबाब दिएको भए पनि निजी अस्पतालमा ठाउँ नभएको र आर्थिक अभावले समस्या झनै बढेको बताए । एक जना कुरुवाले भने, “हामी कहाँ लैजाने ? रातको समय छ, निजी अस्पतालमा ठाउँ छैन, पैसा पनि छैन । अस्पतालले भने बाहिर लैजाऊ भन्छ ।”

वीरगञ्जबासीहरूले सार्वजनिक अस्पतालमा यस्तो संवेदनशील अवस्थामा प्रशासनको गैरजिम्मेवारपनप्रति आक्रोश व्यक्त गर्दै तत्काल सुधार गर्न सरकारसमक्ष माग गरेका छन् । अस्पतालका मेसु र विकास समितिका अध्यक्ष कहाँ छन् भन्ने प्रश्न पनि उठेका छन् ।

करिब तीन घण्टापछि मात्र विद्युत् आपूर्ति पुनः सुचारु भएपछि बिरामीले केही राहत पाएका छन् । यद्यपि, यसले नारायणी अस्पतालको सेवा प्रणाली र आपतकालीन व्यवस्थापनमा ठूलो सुधार आवश्यक रहेको देखाएको छ ।

यो घटनाले देशभर सार्वजनिक स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको सन्देश दिँदै, बिरामीहरूको ज्यानसँग खेलवाड गर्न नहुने चेतावनी दिएको छ । अस्पताल प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने दबाब समेत बढेको छ ।


सम्बन्धित समाचार