
जेठ १७, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा आजदेखि असार २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले सूचना निकालेर आजदेखि आउँदो असार २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिएको हो ।
केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ । जिल्ला सुरक्षा समिति काठमाण्डौको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
राप्रपा आन्तरिक छलफलमा
सरकारले निषेधाज्ञा लगाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक छलफलमा जुटेको छ। शनिबार महेन्द्र शालिक र नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा प्रदर्शन गर्ने तयारीमा रहेको राप्रपाले निषेधाज्ञापछि आगामी रणनीतिबारे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
विवादित अभिव्यक्ति र आन्दोलनको समीक्षा
यसैबीच, सांसद ज्ञानेन्द्र शाही लगायत केही नेताहरूले निषेधाज्ञा नमान्ने र आवश्यक परे सिंहदरबारसमेत कब्जा गर्न पछि नपर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएका छन् । राजा फर्काउने भन्दै जेठ १५ गते शान्ति बाटिकाबाट आन्दोलन सुरु गरेका विभिन्न ४५ पार्टी र समूहले हिजो माइतीघर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका थिए । गत फागुन २५ गतेपछि पहिलोपटक उत्साहजनक जनसमर्थन पाएको दाबी गर्दै उनीहरूले सरकारमाथि थप दबाब बढाउन आज नारायणहिटी अगाडि नै जनप्रदर्शनको तयारी गरेका थिए । संयुक्त्त जनआन्दोलन संघर्ष समितिले भने दरबारमार्गमा तय भएको कार्यक्रम अब रत्नपार्कमा हुने बताएको छ ।