
१७ जेठ, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन १४ वर्ष उमेर पूरा हुनैपर्ने प्रावधान फेरि लागु भएपछि विद्यार्थी र अभिभावकहरू तनावमा परेका छन् । चार वर्षअघि शिक्षा मन्त्रालयले हटाएको यो प्रावधान शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ अनुसार पुनः कार्यान्वयन गर्न बोर्डलाई निर्देशन दिएको हो ।
२०७८ सालमा कक्षा १२ को परीक्षामा मात्र १४ वर्षको उमेर हद राखिएर एसईईमा उमेरको सीमा हटाइएको थियो। तर, अहिले मन्त्रालयले २०८२ सालको एसईईमा सहभागी हुनका लागि चैत मसान्तसम्ममा विद्यार्थीको उमेर १४ वर्ष पुग्नुपर्ने नियम लागु गरेको छ। यसको अर्थ २०६८ साल चैत मसान्तभित्र जन्मेका विद्यार्थीले मात्र आगामी एसईई दिन पाउनेछन् ।
हाल कक्षा १० को रजिस्ट्रेसन फाराम भर्ने क्रममा धेरै विद्यार्थीको उमेर नपुगेको पाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार केही विद्यार्थीको उमेर तोकिएको मितिभन्दा दुई–चार दिन मात्रै कम छ भने केहीको त एसईई दिने समयमा १२ वर्ष मात्रै पुग्ने देखिएको छ। यसले गर्दा विद्यालय, विद्यार्थी र अभिभावकबाट दैनिक गुनासो आइरहेको छ ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईका अनुसार अभिभावकले विद्यार्थीको जन्ममिति घटाएर वा कक्षा जम्प गराएर कलिलै उमेरमा माथिल्लो कक्षामा पठाएको हुनसक्ने अनुमान गरिएको छ । २०७८ सालमा उमेरको प्रावधान हटेपछि यस्तो प्रवृत्ति बढेको थियो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले २०७८ सालमा नियमावलीको प्रावधान मन्त्रीस्तरीय निर्णयबाट हटाउनु नै गलत भएको बताएका छन् । उनले अहिले नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न मात्र भनिएको र कुनै समस्या आए सहजीकरण गर्न बोर्डलाई भनिएको उल्लेख गरे ।
विद्यार्थीमा देखिएको समस्यालाई मध्यनजर गर्दै बोर्डले तत्कालका लागि एउटा उपाय सुझाएको छ । कक्षा १० मा रजिस्ट्रेसन फाराम भर्दा १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त उल्लेख गरेर भर्न पाउने सुविधा दिएको छ। संसद्मा रहेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ मा एक पटकका लागि जन्मदर्ता सच्याउन सकिने व्यवस्था रहेकाले सो विधेयक पारित भएपछि जन्ममिति सच्याउन सकिने भट्टराईले बताए । यद्यपि, उक्त विधेयक कहिले कार्यान्वयनमा आउँछ भन्ने यकिन छैन ।