Logo

१८ जेठ, वीरगञ्ज । तीन दिनदेखि हराइरहेका वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलका ५९ वर्षीय अरुण लाल कर्णको शव नालामा डुबेको अवस्थामा फेला परेको छ। अल्जाइमर रोगबाट पीडित कर्ण जेठ १६ गते बिहान ‘दाह्री काट्न जान्छु’ भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।

कर्ण साँझसम्म पनि घर नफर्किएपछि उनका आफन्तले चिन्तित हुँदै पर्सा प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरीले खोजी थालेको थियो। विभिन्न सञ्चार माध्यमहरू र स्थानीय सामाजिक अभियन्ताहरूले समेत खोजीमा सहयोग पु¥याएका थिए।

तर, दुःखद रुपमा जेठ १८ गते बिहान वीरगञ्ज–१६ को नयाँ बस्ती छेउको खेतमा जमेको नालामा कर्णको शव भेटियो। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, शव फेला परेको स्थानमा प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।

कर्णको मृत्युसँगै स्थानीय समाजमा शोकको लहर फैलिएको छ। सामान्य उपचार र हेरचाहमै रहेका उनी अचानक हराएपछि परिवारजस्तै टोलबासी पनि चिन्तित थिए। शव भेटिएपछि टोलमा स्तब्धता छाएको छ।

प्रहरीले घटनाका सबै पक्षको अध्ययन गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार