Logo

१९ जेठ, सिमरा (बारा) ।  मधेश प्रदेशमा बाघ संरक्षणलाई बल र्पुयाउन ‘बाघ मित्र अभियान’ सञ्चालनको तयारी तीव्र गतिमा अघि बढाइएको छ। पछिल्लो समय बाघको मृत्यु दर बढ्दै गएको सन्दर्भमा यो अभियानको परिकल्पना गरिएको हो ।

विशेषतः पर्सा र बारा जिल्लामा गत वर्ष मात्र ६ वटा बाघ मरेपछि यस अभियानलाई बाघ दिवसका अवसरमा घोषणा गरिएको थियो। बाघ मित्र अभियानको मुख्य उद्देश्य मानिसलाई बाघबाट र बाघलाई मानिसबाट जोगाउनु रहेको पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार, मानिसले बाघलाई शत्रुका रूपमा लिँदै विष हालेर मार्ने घटनाहरू बढ्न थालेपछि यो अभियान आवश्यक देखिएको हो। अभियान अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज तथा बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयहरूले संयुक्त रूपमा प्रत्येक जिल्लाबाट १०/१० जना ‘बाघ मित्र’ स्वयमसेवक छनोट गर्ने तयारी गरेका छन् ।

दीर्घकालीन लक्ष्य स्वरूप प्रत्येक घरमा एक जना बाघ मित्र स्वयमसेवक रहने गरी अभियान विस्तार गरिनेछ ।हाल ‘बाघ मित्र’को छनोट प्रक्रिया, अधिकार र कर्तव्य, कार्यकाल तथा आचारसंहिता सम्बन्धी नीतिगत छलफल र गृहकार्य भइरहेको छ । दुई चरणको बैठक बाराको सिमरामा सम्पन्न भएको छ । जसमा पर्सा राष्ट्रिय निकृञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा ,डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झा ,डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमद , डिभिजन बन कार्यालय मकवानपुरका डिभिजनल बन अधिकृत राकेश प्रसाद चन्द्रवंशी ,डिभिजन बन कार्यालय रौतहटका प्रतिनिधि ,जेड.एस.एल.का प्रोग्राम अफिसर प्रचण्ड महर्जन , तराई मधेश भु परिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज प्रेम पौडेल ,डब्लु.डब्लु .एफ का बन्यजन्तु बिज्ञ डा.शंशाक पौडेल लगायतको सहभागिता रहेको थियो ।

अभियानको सफलताका लागि स्पष्ट कार्यदिशा, नियमावली र स्थानीय सहभागिता सुनिश्चित गरिने वन विभाग स्रोतले बताएको छ । पर्सा राष्ट्रिय निकुञ्जको समन्वयमा अगाडि बढाइएको यो अभियानले वन्यजन्तु संरक्षणसँगै समुदाय र जनजिवनबीच सहअस्तित्वको सन्देश फैलाउने अपेक्षा गरिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।


सम्बन्धित समाचार