
१९ जेठ, काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।
आइतबारको प्रदर्शनका क्रममा प्रहरीले हिरासतमा लिएका सबै नेताहरू रिहा भइसकेकाले अब बन्द कार्यक्रमको आवश्यक नभएको समितिले जनाएको छ। यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार हुने भनिएको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने स्पष्ट पारेका थिए।
अध्यक्ष लिङ्देनले लेखेका छन्, “सरकारी पक्षबाट पक्राउ परेका नेता र कार्यकर्ताहरूको रिहाइ भइसकेकाले भोलिको उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता हुँदैन। हामी सामान्यतया यस्तो बन्द हडताल जस्ता अलोकप्रिय कार्यक्रमको समर्थनमा छैनौं।”
जनआन्दोलन समितिको बन्द कार्यक्रम फिर्ता लिने निर्णयले राजधानी उपत्यकामा शान्ति कायम हुने अपेक्षा गरिएको छ।