Logo

१९ जेठ, काठमाडौँ । राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा नेपालभरका यातायात व्यवसायीहरूले गाडी ग्यारेजमै थन्क्याएका छन्। यसअघि गण्डकी प्रदेशमा सीमित आन्दोलनलाई देशव्यापी बनाउँदै उनीहरूले प्रदेश सरकारद्वारा जारी ‘राइड सेयरिङ’ नियमावली खारेज गर्न माग गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, यात्रु सुरक्षाको चुनौती, नियमावलीको अस्पष्टता, र व्यवसायीहरूमा उत्पन्न असन्तोषका कारण आन्दोलनलाई तीव्र पारिएको हो।

 यसले सर्वसाधारणलाई सास्ती भएको छ। विशेषगरी, पूर्व निर्धारित परीक्षा दिन जाने विद्यार्थी, अस्पताल जाने बिरामी, र अत्यावश्यक सेवामा रहेका नागरिकहरू सडकमा अलपत्र परेका छन्।

सार्वजनिक यातायातको अभावले सबै क्षेत्र प्रभावित भएका छन् भने सामाजिक सञ्जालमा यात्रुहरूको आक्रोश देखिन थालेको छ।

यस विषयमा सरकार र आन्दोलनरत पक्षबीच वार्ताको तयारी भइरहेको जानकारी दिइएको छ। यद्यपि, सहमति नहुन्जेल आन्दोलन कायमै रहने व्यवसायीहरूको चेतावनी छ।


सम्बन्धित समाचार