
१९ जेठ, वीरगञ्ज। आगामी मनसुन तथा अन्य प्राकृतिक प्रकोपहरूको सामना गर्न सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका आठवटै जिल्लामा ‘विपद स्वयंसेवक र सूचक उत्पादन’ गर्ने अभियान शुरु गरेको छ ।
मनसुन तथा अन्य प्राकृतिक प्रकोपहरूको सामना गर्न स्थानीय स्तरमै जनशक्ति तयार पार्ने उद्देश्यले ‘आपत्कालीन स्वयंसेवक तथा सूचक उत्पादन’ अभियान सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेश कार्यालयले जनाएको छ। मधेश प्रदेशलाई मनसुनजन्य तथा आगलागीजस्ता प्राकृतिक एवं मानवजन्य प्रकोपका हिसाबले अति जोखिमयुक्त प्रदेश मानिन्छ।
त्यसैलाई मध्यनजर गर्दै विपद्का समयमा कमभन्दा कम धनजनको क्षति गर्न समुदायलाई नै विपद्सँग लड्न सक्ने जनशक्ति निर्माण गर्न मधेश प्रदेशका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले विशेष सर्कुलर जारी गरी हरेक जिल्लामा यसै वर्ष कम्तीमा २५ जना विपद् स्वयंसेवकको २१ दिने तालिम सञ्चालन गर्न निर्देशन दिएका छन्।
हालसम्म रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जना गरी जम्मा १३९ जनालाई तालिम दिएर स्वयंसेवक उत्पादन गरिएको छ। बाँकी ३ जिल्ला पर्सा, बारा र सिराहामा समेत २५–२५ जना स्थानीय जनशक्ति निर्माण गर्न छिट्टै तालिम सुरुवात गरिने सशस्त्र प्रहरी नम्बर २ छिन्नस्ता बाहिनी मधेस प्रदेशले जनाएको छ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले विपद्को पहिलो जवाफदेही भनेको स्थानीय समुदाय नै भएकोले स्थानीय समुदायलाई जवाफदेही बनाए मात्रै विपदको क्षति न्यूनीकरण गर्न सक्ने र सकेसम्म मानवीय क्षति हुन नदिनका लागि पनि अभियान सहयोगी सिद्ध हुने बताए ।
उनले समुदाय र सुरक्षा फौजको सहकार्यमा त्यो सम्भव भएकोले यस्तो तालिम अहियान शुरु गरिएको बताए । विपद्बबारे छिटो जानकारी प्राप्त गर्नका लागि सबै जिल्लाका सबै पालिकामा रहेका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचकहरू तयार गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति डीआईजी ढकालले बताए ।
यी सूचकहरूले हुन सक्ने विपद्का घटनाको सूचना तुरुन्त दिने जनशक्तिका रूपमा काम गर्नेछन्। यसका लागि हालसम्म सबै जिल्लाका पालिकाहरूसँग समन्वय गरी विपद् सूचकहरूको विवरण फोन नम्बरसहित संकलन गरिसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ।