Logo

१९ जेठ,सेढवा । पर्साको ग्रामीण क्षेत्रमा केही दिनदेखि बढिरहेको अत्यधिक गर्मी र चर्को घामका कारण विद्यालयको पठनपाठनदेखि दैनिक जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण विशेषगरी प्राथमिक तहका बालबालिकाहरू बढी जोखिममा परेका छन् भने शिक्षालयहरूमा विद्युत अभाव तथा व्यवस्थापनमा अनियमितताको आरोपसमेत उठ्न थालेको छ।

कक्षाकोठामा उकुसमुकुस, शिक्षक–विद्यार्थी हैरान
जिराभवानी गाउँपालिका–१ स्थित शिवशक्ति प्राथमिक विद्यालय, शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाका अनुसार गर्मी र हावा नचल्दा कक्षामा बस्नै मुस्किल हुने अवस्था आएको छ। “साना बालबालिकाहरू पसिनाले निथ्रुक्क हुन्छन्, यस्तो अवस्थामा पढाउने वातावरण नै हुँदैन,” सापकोटाले बताए।

त्यस्तै, पटेर्वासुगौली गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय मावि, निचुटाका शिक्षक श्याम घिमिरेले एकै कक्षामा १०० भन्दा बढी विद्यार्थी हुँदा गर्मी झन् असह्य हुने बताए। “दिउँसो १२ बजेपछि विद्यालय छुटेपछि घर फर्किन टाढाबाट आउने विद्यार्थीहरूलाई झन् समस्या पर्छ,” उनले भने।

विद्यालयहरूमा पंखा भए पनि पर्याप्त नभएको, कतिपयमा भने विद्युत मिटर नै जडान नगरिएको शिक्षकहरूको भनाइ छ। गर्मीका कारण विद्यार्थीहरूमा शारीरिक असहजता बढ्दै गएको उनीहरूको गुनासो छ।

शिक्षा शाखामाथि अनियमितताको आरोप
स्थानीय तहबाट विद्यालयहरूमा विद्युत मिटर जडान, वायरिङ र महशुल तिर्ने रकम नियमित रूपमा पठाइए पनि त्यसको प्रयोगमा गम्भीर लापरवाही भएको आरोप लागेका छन्। स्रोतका अनुसार केही प्रधानाध्यापकले उक्त रकम निजी प्रयोजनमा खर्च गरेका छन् भने शिक्षा शाखाका अधिकृतहरूले अनुगमन नगरी बर्सेनि रकम पठाउँदै आएका छन्।

सर्वसाधारणको जीवनमा असर
अत्यधिक गर्मीका कारण खेतमै काम गर्ने किसानदेखि दैनिक ज्यालादारी गर्ने मजदुरसम्म प्रभावित बनेका छन्। बिहान केही शीतल भए पनि ९ बजेदेखि साँझसम्म चर्को घाम लाग्ने भएकाले काम गर्न निकै कठिन भइरहेको स्थानीयको भनाइ छ। “गर्मीले शरीर नै गलाउँछ, तर पेट पाल्न त काम गर्नैपर्छ,“ एक स्थानीय मजदुरले भने।

स्थानीय निकाय र शिक्षा प्रशासनले यस्ता समस्याको तत्काल सम्बोधन गर्नुपर्ने माग शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको रहेको छ।


सम्बन्धित समाचार