Logo

२० जेठ, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक कुनै ठोस निष्कर्षमा नपुगी समाप्त भएको छ । बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत राखेपछि सहमति जुट्न नसकेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा करिब दुई घण्टा चलेको बैठकमा सत्ता पक्ष र विपक्षी दलहरूबीच मतभेद कायमै देखिएको छ। बैठकपछि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा नैतिक जिम्मेवारी वहन गर्दै मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्‍याए ।

“हामीले उठाएको विषय यथावत छ,” पाण्डेले भने, “गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो अडान कायम छ।”

सत्तापक्षले भने सो प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता नरहेको भन्दै राजीनामाको मागलाई अस्वीकार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अवरुद्ध रहनु जनताप्रति अन्याय हुने भन्दै संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत नेताहरूको सहभागिता रहेको थियो ।

राजनीतिक संवाद जारी राख्ने सहमति भए पनि तत्कालको लागि संसद् अवरोध हट्ने संकेत देखिएको छैन ।


सम्बन्धित समाचार