
२० जेठ,काठमाडौं । गाजाको दक्षिणी भाग रफाहस्थित एक राहत वितरण केन्द्रमा सहायता लिन लाइनमा बसेका नागरिकहरूमाथि इजरायलले आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा २७ प्यालेस्टिनीको मृत्यु भएको र दर्जनौं घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी र अलजजिराले जनाएका छन्।
उक्त राहत वितरण केन्द्र ’गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)’ द्वारा सञ्चालित छ, जसलाई इजरायल र अमेरिका दुवैले समर्थन गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मे २७ देखि दैनिक रूपमा सहायता माग्ने नागरिकहरूमाथि भइरहेका गोलीकाण्डको स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गरेका छन्। जीएचएफले सोही मितिबाट राहत वितरण थालेको थियो।
यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा भएको हमलामा आफ्ना तीन जना सैनिकको ज्यान गएको जनाएको छ। हमाससँग युद्धविराम अन्त्य गरेयता इजरायली सेनामाथि भएको यो सबैभन्दा घातक हमला भएको बताइएको छ।
इजरायलद्वारा गाजामा थालिएको युद्धमा हालसम्म कम्तीमा ५४ हजार ३८१ प्यालेस्टिनी मारिएका र १ लाख २४ हजार ५४ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्ष अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको हमलामा १ हजार १३९ जना मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।