
२१ जेठ, काठमाडौँ । संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ। यस विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने प्रावधान राखिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयकमाथि छलफल सुरु गरेको हो। गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए।
नयाँ विधेयकको मुख्य बुँदा यो छ कि यदि कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा, प्रस्तावित विधेयकको दफा ४ अनुसार, त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको विवरण उल्लेख नगरी नागरिकता दिन सकिनेछ।
यो प्रस्तावले मूल ऐनको दफा ८ संशोधन गर्न खोजेको हो, जहाँ हाल नागरिकता प्रमाणपत्र प्राप्तिको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। उपदफा १ मा वंशजको नाताले नेपाली नागरिकता लिन १६ वर्ष उमेर पूरा भएको व्यक्तिले निवेदन दिनुपर्ने व्यवस्था छ।
नागरिकताका लागि निवेदन दिँदा जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिस पेस गर्नुपर्छ। जन्मको आधारमा नागरिकता चाहने १६ वर्ष पूरा भएको व्यक्तिले नेपालमा जन्म भई स्थायी रूपमा बसोबास गर्दै आएको बेहोरा खुल्ने गरी निवेदन दिनुपर्छ। यसका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस आवश्यक हुन्छ।
अतिरिक्त प्रमाणको रूपमा, आफ्नो वा परिवारको नामको जग्गाधनी दर्ता प्रमाणपुर्जा, मोहियानी हकको प्रमाणपत्र, घरधुरी प्रमाण, वा निर्वाचन आयोगको मतदाता नामावलीमा बाबु वा आमाको नाम समावेश भएको प्रमाण पनि पेस गर्नुपर्नेछ।
यदि निवेदनसाथ कागजात पेस गर्न नसकिएमा, तोकिएको अधिकारीले स्थलगत सर्जमिन र सोही वडामा बसोबास गर्ने कम्तीमा तीनजना नेपाली नागरिकता प्राप्त व्यक्तिले सर्जमिनस्थलमै गरेको सनाखतको आधारमा पनि नागरिकता दिन सकिने व्यवस्था छ। सर्जमिन गर्दा निवेदक नेपालमा जन्म भई निरन्तर रूपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्छ।