Logo

२१ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। माओवादी सशस्त्र विद्रोहका क्रममा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या भएको आरोपमा उनकी श्रीमती पूर्णिमाया लामा र मानवअधिकारकर्मीहरूले १३ वर्षअघि सापकोटाविरुद्ध यो रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा यस मुद्दाको सुनुवाइ भएको थियो। बुधबार (आज) सापकोटाको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका थिए। यसअघि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

२०६९ साल मङ्सिरमा काभ्रेका लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै पूर्णिमाया लामाले सापकोटासहित माओवादी कार्यकर्ताहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, लामो समयसम्म प्रहरीले किटानी जाहेरी लिन नमानेपछि सर्वोच्च अदालतको आदेशपश्चात् २०६९ साल मङ्सिरमा सापकोटासहित माओवादी नेताहरूविरुद्ध रिट दायर भएको थियो। सर्वोच्च अदालतमा सापकोटाविरुद्ध तीन थान रिट निवेदन विचाराधीन अवस्थामा छन्। सुनुवाइ सकिएसँगै अब इजलासको फैसलाको प्रतीक्षा गरिएको छ।


सम्बन्धित समाचार