Logo

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा अदालतमा मुद्दा गएपछि सम्पर्कमा आउने शर्तमा छुटे पनि अहिलेसम्म सम्पर्कविहीन भएपछि उनीहरूको जिम्मा जमानी लिएका दुई वकिललाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले ‘हाजिरी जमानीमा लिएर बुझ्नेहरुले उहाँहरुलाई बुझाउन नसकेपछि दुवै जनाका वकिललाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना तिराइएको’ जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा (४) अनुसार, अनुसन्धान अधिकृतले हाजिरी जमानीमा छाडिएका व्यक्तिलाई तोकेको समयमा उपस्थित नगराएमा हाजिरी जमानी दिने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो। मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएपछि जेठ २ गते प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो। तर, उनीविरुद्धको मुद्दा अदालत पुगेर बयान सकिँदा समेत उनी अहिलेसम्म उपस्थित भएका छैनन्।

मिश्रभन्दा अगाडि वैशाख ७ गते राणा छुटेका थिए। उपचारका लागि भन्दै राणालाई छाड्नुपर्ने सरकारी वकिल कार्यालयको रायअनुसार प्रहरीले हाजिरी जमानीमा छाडेको थियो। उनीविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहँदा उनी पनि सम्पर्कविहीन छन्।

चैत १५ को तीनकुने प्रदर्शनमा मिश्र र राणा पनि उपस्थित थिए। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईंको कमान्डमा भएको उक्त प्रदर्शन हिंसात्मक बनेको थियो, जसका कारण कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए।

तीनकुने घटनामा संलग्न भएको आरोपमा मिश्र र राणालाई राजद्रोह, आपराधिक उपद्रव, र संगठित अपराधको मुद्दा लगाइएको छ। उनीहरूसँगै यो घटनामा ४ बालकसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो, जसको अहिले अदालतमा थुनछेक बहस सुरु भएको छ।


सम्बन्धित समाचार