
२३ जेठ, वीरगञ्ज । हाल नेपालको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। यसैगरी, कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।
आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।