
यो संसारमा भएका देशहरु मध्ये नेपाल एक सुन्दर र समृद्धिको संभावना भएको देश हो । नेपाल क्षेत्रफलको हिसावले संसारकै ९२ औ ठुलो देश हो भने जनसंख्याको हिसावले ४१ औ ठुलो देश हो । यसको मतलव के हो भने संसारमा नेपाल भन्दा क्षेत्रफलमा आधा भन्दा वढी देश र जनसँख्यामा दुईतिहाई देशहरु साना छन तर प्रश्न उठ्छ के देश बिकासको लागि क्षेत्रफल वा जनसँख्या निर्धारक तत्व हो ? संसारको बिकासको गतिलाई हेर्ने हो भने जनसंख्या र क्षेत्रफल विकासका मुख्य कारक होइनन । सानो देश भए पनि सिंगापुर, इजरायल, लक्जम्वर्ग, स्विजरल्यण्ड, नेदरल्याण्ड, बेल्जियम देशहरुले अत्याधिक विकास गरेका छन भने ठुला देश भएपनि भारत, ब्राजिल, पाकिस्तान विकासको दृष्टिकोणले औसत देशहरु हुन ।
बिकासको दृष्टिकोणले नेपाल एक प्रचुर संभावना भएको देश हो । यहाँको अनुपम प्रकृति श्रोत, दुई ठुला जनसँख्याहरु भएका देशहरुको बिचमा रहेको आलौकीक भुगोल, विविधतापुर्ण समाज, उत्पादक उमेर समुहको बाहुल्य भएको जनसँख्या, मिहिनेती नागरीक, बहुलवादी खुला समाज जस्ता कुराहरुले हाम्रो सकारात्मक रुपान्तरणको लागि आवश्यक भन्दा वढी आधारहरु तयार गरेको छ तर पनि किन हामी अति कम बिकसित राष्टको सुचिमा ?
आखिर के गरेका थिए सिंगापुर, इजरायल, रुवान्डा, मलेशीया जस्ता देशहरुले र छोटो अवधिमा त्यति धेरै विकास गर्न सके ?
के नेपालले पनि त्यसरी नै बिकास गर्न सक्दछ ?
सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारमा १०० दिनमा ८ लाख मानिसहरुको ज्यान गएको थियो । भावनात्मक रुपमा देश टुक्रिएको थियो, चरम आक्रोस, निराशा र नकारात्मकता थियो । मन फाटेको थियो तर त्यस्तो द्धन्द्धलाई शान्तिमा बदलेर नयाँ विहानीको किरण शुरु भयो । राष्टपति पाँल कगामेले नयाँ बिहानीसँगै नयाँ आशाहरु देखाए, विश्वास र एकताको बलमा रुवाण्डेली समाजलाई एकतावद्ध गराए र गरिवी, द्धन्द्ध, अविश्वासको विरुद्ध सबै नागरीकहरुलाई संगठीत गरे । सबै नागरीकहरुलाई अतितबाट सिकेर भविष्यको लागि सँगै अगाडी बढौ भने उत्प्रेरित गरे ।
परिणामत विगत केही वर्ष देखी नै रुवाण्डा अफ्रिकाको सबै भन्दा छिटो बिकास हुने देशमा गनिन्छ । किगाली रुवाण्डाको राजधानी अफ्रिका महादेशकै सफ, सुरक्षित र डिजिटल शहर हो । नेतृत्व र नागरीक सही हुने वित्तिकै देश विकास हुन कति नै समय लाग्दो रहेछ र ? रुवाण्डाले भ्रष्टचारप्रति शुन्य सहनशिलता राख्यो, स्थानीय स्तरमा सहकार्यको संस्कार शुरु गर्यो, महिलाहरुलाई संसदमा ६० प्रतिशत सम्मको सहभागीता दिलायो, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुचना प्रविधीमा प्राथामिकताका साथ लगानी गरे र यीनै कामले रुवाण्डालाई युद्ध पछिको पिडावाट विश्वकै नमुना बन्ने अवसर दियो ।
यहाँ नेर सोचौ त के रुवाण्डले गरेको जस्तै हामीले गर्न सक्दैनौ ? के हामी भ्रष्टचारी र उनिहरुका संरक्षकहरुलाई सामाजिक रुपमा नै बहिष्कार गर्न सक्दैनौ ? स्मरण रहोस भ्रष्टचार हुने देशहरुमा नेपालको नाम निकै माथी छ र जवसम्म भ्रष्टचार निमिटयान्न हुदैन तव सम्म हामीले देश विकास गर्न सक्दैनौ । भ्रष्ट समाजको सिकार सबै हुन सक्छन्, तर सबैभन्दा धेरै प्रभाव सामान्य नागरिकहरू, गरीब वर्ग, युवा पुस्ता, महिला, र इमानदार व्यक्तिहरू माथि पर्छ। कारण स्पष्ट छ, जब समाजमा भ्रष्टाचार व्याप्त हुन्छ, त्यहाँ न त अवसरको समानता रहन्छ, न त न्याय, न त सेवा ।
भ्रष्टचारले सबै भन्दा वढी कसलाई अन्याय गर्दछ भनेर लेखाजोखा गर्ने हो भने सामान्य नागरिकहरू भ्रष्टचारवाट प्राताडीत हुने वर्गमा पहिलो नम्वरमा आउदछन किन भने सर्व साधारणहरु जब सार्वजनिक सेवा लिन लाइनमा बस्दछन तब बिना घुस सेवा नपाइने अवस्था हुन्छ । सरकारी अस्पताल, विद्यालय, कार्यालय सबै ठाउँमा सेवा हैन, सिफारिस र पैसाले निर्णय हुन्छ ।
अर्को प्रताडित बर्ग गरीब वर्ग हो किनकी धनीले घूस दिन सक्छ, पहुँच बनाउन सक्छ तर गरिबसँग न पैसा हुन्छ न त साधन र श्रोत त्यसैले उसले न त राम्रो शिक्षा पाउँछ, न त स्वास्थ्य, न त रोजगारीको अवसर । भ्रष्टचार युक्त शासन सत्तामा समाजको मूलढोकाबाटै उसलाई बाहिर राखिन्छ । भ्रष्ट समाजको अर्को शिकार युवा पुस्ता हो जोसँग योग्यता, प्रतिभा र मेहनत हुँदाहुँदै पनि पहुँच नभएका युवाहरू पछाडि पारिन्छन्। राजनीतिक कार्यकर्ता र झोले युवाहरु प्राथमिकतामा पर्छन् तर इमानदार टयालेन्ट युवाहरुले स्थान पाउँदैनन् । यसले उनीहरूलाई विदेशिन बाध्य बनाउँछ जुन अवस्थावाट अहिले नेपाल गुज्रि रहेको छ । त्यसै गरी महिला र दलित समुदाय अन्यायको शिकार भईरहेका हुन्छन ।
भ्रष्ट समाजमा शक्ति, सञ्जाल र लिंगको राजनीति हावी हुन्छ । यसले महिला, दलित, र सीमान्तकृत समुदायको आवाज दबिन्छ । उनीहरूको पहुँच झनै अपारदर्शी प्रणालीले बन्द गरिदिन्छ । अचम्म त त्यतिवेला मान्नु पर्दछ जब इमानदार कर्मचारी र नेताहरू भ्रष्टचारको शिकार भईरहेका हुन्छन तर पनि आबाज उठाउन सक्दैनन । जब भ्रष्टाचार सामान्य मानिन्छ, इमानदार कर्मचारीलाई ‘बेवकूफ’ भनिन्छ । उनीहरूलाई किनारा लगाइन्छ, दबाब दिइन्छ, अनि कहिले काहीँ त सरुवा, अपमान र पदच्युतसम्म गरिन्छ । जुन अहिले नेपालमा सामन्य छ त्यसकारण बिकास चाहने सबै नेपालीले के बुझन पर्दछ भने भ्रष्ट समाजको सबैभन्दा ठूलो सिकार हो “देशकै भविष्य“ त्यसकारण हामी सचेत समुदायले भ्रष्टचार र भ्रष्टचारीको विरुद्ध शसक्त लडाई लडन तयार हुनै पर्दछ ।
सन् १९६५ मा मलेशीयावाट स्वतन्त्र भएको सिंगापुर एक सानो टापु हो । नेपालका धेरै नगर वा गाउँपालिकाहरु (कास्कीको मादी, हुम्लाको नाम्खा)सिंगापुर भन्दा ठुला छन । स्वतन्त्रताको बेलामा न श्रोत थियो, न शक्ति त पैसा त्यस्तो सिंगापुरलाई त्यहाँका दूरदर्शी नेता लि क्वान यु ले भन्नु भयो शिक्षा, अनुशासन, ईमान्दारीताले हामी सिंगापुरको सकारात्मक रुपान्तरढा गर्दछौे र त्यसको करिब १५ वर्षमा एसिया कै प्रविधी र आर्थिक शक्ति केन्द्रको रुपमा उदायो । यो देशको प्रशासन विश्वकै सबै भन्दा सक्षम प्रशासन हो ।
सार्वजानीक सेवाहरुमा द्रुत र पारदर्शी प्रणाली लागु गरिएको छ । त्यहाँका नागरीकहरुले सरकारलाई विश्वास गर्दछन र सरकारले नागरीकहरुलाई सुरक्षा र सम्मान गर्दछ त्यसकारण सिंगापुरले शिक्षा, स्वास्थ्य, नवप्रवर्तन र व्यापारमा उत्कृष्टता हासिल गरेको छ । नेपाल र नेपालीहरुले यसबाट सिकेर बिकासका मोडलहरु तयार गर्न सक्नु पर्दछ । सिंगापुरको बिकासले के प्रमाणित गरेको छ भने देशको भुगोल श्रोत र साधन भन्दा पनि नेतृत्वको दूरदर्शीता र प्रतिवद्धताले देशको आमुल रुपान्तरणमा भुमिका खेल्दछ ।
आधुनिक बिकासमा तिब्रतासाथ अगाडी बढेको मलेशियाले समुदायमा आधारीत विकास रणनीति मार्फत साझा दृष्टिकोण बिकास गरेर सबैे जातजातीका नागरीकहरुको सहभागीता सुनिश्चित गर्योे । भिजन २०२० तयार गरी सरकार, समुदाय र निजीक्षेत्रबीच त्रिकोणीय साझेदारी मोडलमा विकासका कार्यक्रमहरु सञ्चालन गरिएका थिए र अहिले नयाँ भिजन अनुसार बिकासका गतिविधीहरु अगाडी बढाईएकोछ ।
मलेसियाको विकासमा आर्थिक वृद्धि र लगानी प्रवाह, हरित उर्जा र दिगो बिकास, डिजिटल रुपान्तरण र सेमी कन्डक्टर उद्योग, समावेशी बिकास र सामाजिक न्याय, अन्तराष्टिय साझेदारी र क्षेत्रिय सहयोग जस्ता कुराहरुमा केन्द्रित रहेर बिकासको गति तिब्र पारीएको छ । मलेसियाको बिकासले आर्थिक वृद्धि सँगसगै सामाजिक समावेशीता, दिगो उर्जा र डिजिटल नवप्रवर्तन, शिक्षा आदीलाई समेटेको कारण उच्च आय भएको बिकसीत देशतफै अग्रसर भईरहेको छ ।
यी तीन देशको सिकाईलाई मात्रै आत्मसात गरेर यहाँका सिकाई अनुसार नेपालले समग्रमा चारवटा कुराहरु १. नीति निर्माण, २. संस्थागत विकास, ३. नेतृत्व र कर्मचारीको क्षमता अभिवृद्धि ४. नागरीकहरुको क्षमता अभिवृद्धि ध्यान दिने हो भने नेपालको पनि द्रुत विकास संभव छ तर बारम्वार केही नगर्ने नेताहरु र पार्टीहरुलाई बिकासको बागडोर सुम्पेर देश बिकास भएन भन्नु नागरीक स्वयमको मुर्खता वा अज्ञानता हो । माथी व्याख्या गरिएका देशहरुको बिकास राजनीतिक नेतृत्वको कारण सभव भएको हो । त्यसकारण हामीले जव सम्म राजनीतिक पार्टीको सिमा नाघेर एक भोट ईमान्दार, सक्षम र दूरदर्शी नेतालाई हाल्दैनौ तब सम्म हाम्रो बिकास संभव छैन । त्यसकारण आउनुहोस समृद्ध नेपालको लागि समृद्ध नेतृत्व छनौट गर्ने प्रण गरौ । अब हाम्रालाई होइन राम्रालाई राम्रालाई छानौ, आफनो भविष्य आफैले लेखौँ ।