
२६ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका १९ जना प्रतिवादीहरूलाई ३५ दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।
आज अदालतले १९ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएपनि मुद्दाको सुनुवाइमा नआएको भन्दै ३५ दिनको सूचना जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उनीहरुलाई अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फछ्र्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्धा दायर गरिएको थियो ।
तर कतिपय व्यक्तिहरूको ठेगानासमेत नखुलेको भन्दै सुरूमा प्रतिवादी बनाइएको थिएन । सिआइबीले दोस्रो चरणको अनुसन्धानमा ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा २०८१ असार १८ गते मुद्दा दायर गरेको थियो । त्यतिबेला जम्मा २० जना पक्राउ परेका थिए। २६ जना फरार थिए ।
यसबीचमा १९ जना भने बेपत्ता भएपछि गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् । अदालतले १९ जनाको नाममा पक्राउ पुर्जी भएर पनि बेपत्ते तामेल भएर आएको भन्दै जेठ ११ गते पक्राउ पुर्जीको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
६ चिनियाँ सहित १९ जनाविरुद्ध पक्राउ पूर्जी
पक्राउ पुर्जी जारी गरिएकाहरूमध्ये ६ जना चिनियाँ नागरिक छन् । चिनियाँ नागरिकहरू लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी भन्ने झोङ जिङचुआन र पिङ लिङफेङ छन् ।
यसैगरी नेपाली नागरिकहरूमा सिन्धुपाल्चोकका राम गुरूङ, झापाका लेखनाथ कार्की डोली, दोलखाका कुमार भुजेल, दिलिप भुजेल र विकेन्द्र भुजेल र पर्वतका जिवनकुमार गुरूङविरूद्ध पनि पुर्जी छ । भारतीय नागरिकहरू अभिजित तानाजी मुलिक, माही भन्ने अगोल कलप्पा कुटे र कमलकान्त कुल्थियाविरूद्ध पनि पुर्जी जारी छ । यस्तै काभ्रेका पाल्साङ लामा, बर्दियाका जिवन चलाउने, उदयपुरका भिमबहादुर मगर र भारतका टासी शेर्पालाई हाजिर हुन आउन अदालतले सूचना प्रकाशन गरेको छ ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शुमा सुन रहेको सूचनापछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो ।
उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो । पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो । दोलखाका दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो ।
उनीहरुले विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो । सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भएपनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो ।