२५ असार, वीरगञ्ज । पत्रकारहरूसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर रिहा भएका छन्। पत्रकार र ठाकुरबीच आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने सहमति भएपछि उनी जिल्ला प्रहरी कार्यालय पर्साबाट बुधबार रिहा भएका हुन्।
आइतबार दिउँसो वीरगञ्जको क्लासिक ब्यान्क्वेटमा जनस्वास्थ्यसम्बन्धी तालिम चलिरहेको बेला सोही स्थानमा चलचित्र पत्रकार संघ, पर्साको पोस्टर सार्वजनिक गर्ने कार्यक्रम पनि भइरहेको थियो। रिपोर्टिङका लागि पुगेका पत्रकारहरू सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेललाई स्वास्थ्य अधिकृत ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको पत्रकारहरूको भनाइ थियो।
यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको थियो। आइतबार नै पत्रकारहरूले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको उजुरी समेत दर्ता गरेका थिए। उजुरीका आधारमा पर्सा प्रहरीले ठाकुरलाई छलफलका लागि बोलाएको थियो।
प्रारम्भिक छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि प्रहरीले उनलाई आफ्नो नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा उपचारका लागि राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि पुनः जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको छ।
सहमतिअनुसार, ठाकुरले पत्रकारहरूको फुटेको मोबाइल मर्मत गरिदिने र हराएको मोबाईल नयाँ किनिदिन सहमत भएका छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना पनि गरेका छन्। पत्रकारहरूले उनको माफी स्वीकार गर्दै आपसी समझदारीमा मिलापत्र गरेका छन्।

















