Logo

२५ असार, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरका विभिन्न प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ८ बजे जारी गरेको अद्यावधिक विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।

कुन प्रदेशमा कस्ता सडक अवरुद्ध?

लुम्बिनी प्रदेशस्थित नवलपरासी बर्दघाट सुस्ता पूर्वमा पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । यो देशको मुख्य लाइफलाइन भएकाले यसको अवरोधले लामो दूरीका सवारी साधन प्रभावित भएका छन्। यसैगरी कोशी प्रदेशमा कोशी राजमार्ग (सङ्खुवासभा) र मेची राजमार्ग ९पाँचथर० बाढी र अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छन् ।

बागमती प्रदेशमा मकवानपुरको कान्तिलोक पथ र रसुवाको गोसाइँकुण्डमा नेपाल र चीन नाका जोड्ने पुल पनि पूर्ण रूपमा अवरुद्ध छन् । यद्यपि, काभ्रेको बनेपा–नाला–भक्तपुर सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ। गण्डकी प्रदेशमा बागलुङ खण्डमा कालिगण्डकी करिडोर एकतर्फी सुचारु छ, तर म्याग्दीको दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ । कर्णाली प्रदेशमा डोल्पा र रुकुम पश्चिमका विभिन्न स्थानमा भेरी करिडोर र अन्य सडकहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । सुदूरपश्चिम प्रदेशस्थित बझाङमा जयपृथ्वी राजमार्ग पनि पहिरोले गर्दा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। साथै, यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार